म र एक जना भाइ मिलेर उनीहरुको चेकजाँचमा लागेका थियौँ । त्यो भाइले जाँच गरिरहेको थियो । म पुर्नवासका नागरिकलाई लाइन लगाइरहेको थिएँ । त्यतिबेला मैले पीपीईसहित अन्य व्यक्तिगत सुरक्षा सामग्री लगाएको थिइनँ । खालि मास्कको भरमा उनीहरुलाई लाइन लगाएर चेक गरिरहेका थियौँ । सायद त्यही मेरो गल्ती थियो । त्यो दिन आएका ६ जनामा कोरोना पोजेटिभ देखियो । उनीहरुबाटै मलाई सरेको हो जस्तो लाग्छ ।
त्यस दिन पोजेटिभ देखिएका दुई जनाले सीमामा सशस्त्र प्रहरीसँग विवाद गरेका थिए । मैले नै उनीहरुलाई सम्झाइ बुझाइ गरेर माहोल शान्त पारेको थिएँ । सीमा क्षेत्रमा र्यापिड टेस्ट बन्द भएपनि विभिन्न क्वरेण्टीनमा गएर र्यापिड टेस्ट र शङ्कास्पद बिरामीको स्वाब सङ्कलनको काम गरिरहेको थिएँ । जेठ १७ गते आफ्नो पनि स्वाब सङ्कलन गरेर पठाएँ ।
मङ्गलवार दिउँसो धनगढीमा रहेको मेडिकल ल्याब एसोसिएसन अफ नेपालको कार्यालयमा छलफल थियो । त्यस संस्थाको कञ्चनपुर जिल्ला सदस्य भएकोले छलफलको लागि म धनगढी आएको थिएँ । प्रयोगशालामा चेकजाँच गरिरहेकाहरुसँग चिनजान र मित्रता थियो । आफू पोजेटिभ भएको जानकारी पाएपछि सुरुमा विश्वास लागेन । तर केही डर लाग्यो । मन खिन्न भयो । अब जे भएपनि भइहाल्यो भन्दै त्यसपछि आफैँले मोटरसाइकल चलाएर सेती अस्पतालतर्फ हानिएँ ।
मैले स्वाब सङ्कलन गरेकामध्ये चार जनामा कोरोना पुष्टि भएको खबर सुनेँ । स्वाब सङ्कलनकै क्रममा कोरोना सरेको होला जस्तो मलाई लाग्दैन । किनकि त्यतिखेर मैले व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेको थिएँ । सतर्कता पनि अपनाएको थिएँ । तर सीमामा सयौँको भिड भएकाले त्यही नै केही गडबडी भएको जस्तो लाग्छ ।
दिनभरि काम गरेर साँझ सधैँ म घर जान्थेँ । घरमा दुई छोरी र श्रीमती छन् । सेती अस्पतालमा स्वास्थ्यकर्मीका लागि छुट्टै वार्ड छ । यहीँ बसेको छु । तर ममा कोरोना पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन । परिवारको चिन्ता लागिरहेको छ । छिट्टै कोरोनालाई जित्छु ।
(कञ्चनपुर जिल्लामा कार्यरत सङ्क्रमित स्वास्थ्यकर्मीसँगको कुराकानीमा आधारित)
No comments:
Post a Comment